Roshan Adhikary

Roshan Adhikary

Tuesday, September 18, 2012

यथार्थता

नगरेको प्रेमकी प्रेमिकालाई
देउती बनाएर समर्पणमा
पुष्पगुच्छा म किन चढाउँ
कपोलकल्पनामा?
मुस्कान मभित्र छर्न आँशु आफ्ना बगाउने
समर्पण ममा गरेर जीवन पार लगाउने
बाआमाको यथार्थता के बिलिन भयो र?

भद्दा सौन्दर्य चर्चामा
काल्पनिक प्रेमिकाको
प्रशंसाको भीमकाय पुल
म किन बाधौँ फिज़ुलमा?
चाउरी परेका गालामा ती ममता अझै रसाउने
थकित मलिन आँखामा नि उत्साह प्रेरणा बसाउने
 बाआमाको सौन्दर्य के कुरूप भयो र?

"यादमा तिम्रो जलिराछु
प्रेमबियोगमा तड्पीराछु"
कवितामा किन बगाउँ
नौटंकी आँशु बेफ्वाँकमा?
मेरो सफलताको कामनामा कुरिबसेका
हार्दा मलाई प्रेरणाले जित्न कमर कसेका
बाआमाका अधुरा सपना के मजाक भए र?